मान्छेहरू,
मायाप्रेममा ज्यान दिन भनी भ्यालेन्टाइन डे मनाउँछन्
तर त्यस्तै परे ज्यान लिन पछि पर्दैनन्
आजित छन् फेसबुकका भित्ताहरू
मायाप्रेमका तस्बिर र
भावनाका भारी बोक्न गाह्रो छ यिनलाई
आज हाल्छन् भोलि मेट्छन्
आज मेट्छन् भोलि हाल्छन्
तीन दिनसम्म हाँसेका तस्बिरहरू
तीन महिनासम्म नाचेका तस्बिरहरू
तीन महिना नपुग्दै सम्बन्धविच्छेदमा परिणत हुन्छ
तर पनि ति भ्यालेन्टाइन डे मनाइरहन्छन्
फोटोमा बनाएका मुटुका चित्रहरू
आफैँ छक्क पर्छन्
किन हाम्रो चित्र बनाइएको हो
मान्छेका मुटुहरू
स्वार्थ र लोभले खाइसकेको छ
हो मान्छे फोटोमा चित्र बनाउँछ
अदृश्य समर्पण स्वतः सिद्ध हुन्छ पनि
गुलाबको फूल हैरान छ
गुलाबको फूल टिप्न आउनेहरू आउँदासम्म
काँडाको पर्वाह गर्दैनन्
तर टिपिसकेपछि
बोटै भाँचेर हिँड्छन् ।






